साताको सेयर
यो साता सेयर बजारमा झन्डै साढे आठ अर्ब रुपैयाँ बराबरका ८ करोड ५५ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएका छन् । डेढ दर्जन कम्पनीहरूको हकप्रद, बोनस र थप निष्कासन (एफपीओ) गरी उल्लिखित कित्ता सेयर बजारमा कारोबारका लागि दर्ता भएको नेप्सेले जनाएको छ ।जसमध्ये सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको हकप्रद तथा बुटवल पावर कम्पनीको एफपीओ सेयर यो साता नेप्सेमा सूचीकृत भए । बाँकी १४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
राष्ट्र बैंक र बिमा समितिले कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले हकप्रद, बोनस र एफपीओ सेयर जारी गर्ने क्रम बढेको हो । यसकारण गएका दुई वर्षमा सेयर बजारमा ठूलो मात्रामा सेयर सूचीकृत भएको हो । बजारमा सेयरको आपूर्ति धेरै भएपछि समग्र नेप्से परिसूचकमा दबाबमा रहेकाले बजार घट्दै गएको जानकारहरू बताउँछन् ।यो साता सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३१ अंकले घट्यो । कारोबार भएका अधिकांश दिनमा सेयर बजार ऋणात्मक रहेपछि समग्र नेप्से ३१.०९ अंकले घटेको हो । पाँच दिनको व्यापारमा बजारमा ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
साप्ताहिक कारोबारमा सबैभन्दा बढी हिस्सा बैंकिङ समूहले ओगटेको छ । त्यसपछि धेरै हिस्सा ओगट्नेमा बिमा र लघुवित्त समूह छन् । पाँच दिनको कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ३२.६ प्रतिशत छ । सोही अवधिमा बिमा र लघुवित्त समूहले क्रमश: २६.७३ र १३.३५ प्रतिशत हिस्सा ओगटेका छन् । यो साता सेयर लगानीकर्ताको सम्पत्ति घटेको छ । नेप्सेमा सूचीकृत सबै समूहको परिसूचक घटेपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको रूपमा विश्लेषण गरिएको हो ।
यो साता कारोबार रकम (१९ करोड १५ लाख १० हजार रुपैयाँ) का आधारमा नेपाल बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (५ लाख २४ हजार कित्ता) का आधारमा पनि नेपाल बैंक नै सबैभन्दा अघि छ । त्यसैगरी, कारोबार संख्या (१ हजार ५ सय ५ वटा) का आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

No comments