कम्फर्ट जोनमा केहि फल्दैन !
                                                                                                                                                                                                                                                                      सुदर्शनप्रसाद अधिकारी 
मानिसको जीवन तीनवटा स्थितिमा रुमल्लिरहेको हुन्छ । यथास्थिति, चुनौतिपूर्ण स्थिति र कम्फर्ट स्थिति । यी तीन मध्ये आफू कुन स्थितिमा रहने र एउटा स्थितिबाट अर्को स्थितिमा आफूलाई पुर्याउने या नपुर्याउने त्यो कुरा भने आफैंमा निर्भर हुने गर्दछ । मानिसको जीवनमा अनेकौं चुनौती तथा अवसरहरु आउँछन् । ती चुनौती र अवसरहरुलाई पहिचान गर्न नसक्ने वा नचाहने र उ भित्र रहेका डरहरुले गर्दा चुनौतीहरुको सामना गर्न इच्छुक नहुने स्थितिलाई नै यथास्थिति भन्न सकिन्छ । म यस्तै हो, मैले अरु के नै गर्न सक्छु र ! भन्दै बस्ने व्यक्तिहरु यो स्थितिमा रुमल्लिरहेका हुन्छन् । यो स्थितिमा रहने व्यक्तिले जीवनमा कुनै आकांक्षा लिएका हुँदैनन् । 
अर्को तर्फ, अधिकांश व्यक्ति कम्फर्ट स्थितिमा नै रहन चाहन्छन् । खान, लाउन र आफ्ना साना तिना इच्छाहरु पूरा भईरहेको स्थितिलाई नै सन्तुष्ट (कम्फर्ट) स्थिति भन्न सकिन्छ । यो स्थितिमा रहेको वा रहने व्यक्तिहरुले जीवनमा अनेकन आकांक्षाहरु लिएका त हुन्छन् तर ती आकांक्षाहरु पूरा गर्न चुनौतीहरुसंग जुध्न वा जोखिम उठाउन चाहदैनन् । जोखिम उठाएर आफ्नो आकांक्षाहरुलाई मूर्त रुप दिनु भन्दा आफ्नो वर्तमान स्थितिमा नै रमाएर बस्न चाहन्छन् । त्यसैले यो कम्फ़र्ट स्थितिमा रहन मन पराउने व्यक्तिहरु आफ्नो यथास्थितिसंग सम्झौता गरेर बाचिरहेका त हुन्छन तर कम्फर्ट स्थितिमा थप सफलता हासिल हुन नसक्ने भएकाले  उनीहरुले आफ्नो भविष्यमा पनि कुनै सफलता वा प्रगती गर्न सक्ने अवस्थाको सृजना हुँदैन । 
चुनौतीपूर्ण स्थितिमा रहने व्यक्तिहरुले नै जीवनमा अनेक सफलताहरुको शिखर चुम्दै आफ्नो,समाजको,देशको र विश्वको नै विकास र प्रगतीमा महत्वपूर्ण योगदान दिरहेका हुन्छन् । उनीहरु एउटा चुनौतीसंग जुधेर सफलता हासिल गर्दछन् र कम्फर्ट जोनमा पुगेर सन्तुष्ट हुन्छन् । तर यस्ता व्यक्तिहरु धेरै दिनसम्म कम्फर्ट स्थितिमा बसिरहन सक्दैनन् फलस्वरूप उनीहरु पून  अर्को अवसरको पहिचान गरि चुनौतीका लागि तयार भएर फेरी अर्को सफलता हासिल गर्न अग्रसर रहन्छन् । यसप्रकार उनीहरुको कम्फर्ट स्थितिमा पुग्ने र फेरी चुनौतीपूर्ण स्थितिमा फर्किएर सफलता हासिल गर्ने क्रम चली नै रहेको हुन्छ । यस्ता व्यक्तिहरु न असफलता देखि विचलित हुन्छन् न चुनौती देखि डराएर पछि नै हट्छन् । उनीहरु आफ्नो कार्यमा पूर्ण सफल नभए सम्म निरन्तर सफलताका लागि चुनौतीसंग लडिरहन्छन् । 
नेपाल राष्ट्र बैंकको सहायक पदमा जागिरे भएपछी म आफ्नो र परिवारको आधारभूत आवश्यकताहरु सहज रुपमा पूरा गर्न सक्ने भैसकेको थिएँ । सामान्य जीवन यापनका लागि मेरो जीवनमा कुनै समस्या थिएन । तरपनि ममा अझै केहि नयाँ र राम्रो गर्ने उत्साहको हिमशिखर चुलिदै गएको थियो । मलाई लाग्छ मानिस जब जन्मन्छ उसले जन्मजात सोच र विशेष शिप जस्ता २ ओटा शक्तिशाली गुण लिएर जन्मिएको हुन्छ । यहि हामीसंग भएको सोच र शिपलाई हामीले जुन किसिमले परिचालन गर्छौं त्यहि अनुरुपको सफलता र असफलता हासिल गर्दै जान्छौं । ममा भएको यहि सोचले नै जीवनमा केहि राम्रो गर्नका लागि आफूसंग भएको शिपलाई प्रयोग गर्ने अठोट गरें र त्यसैमा अग्रसर हुँदै चुनौतीपूर्ण स्थितिमा पटक पटक प्रवेश गरिरहें र त्यसमा सफल हुँदै गएँ । म यसरी नै धेरै पटक कम्फर्ट स्थितिमा पुगेर पनि पुन च्यालेंजिंग जोनमा फर्किएर चुनौतीको सामना गर्दै विभिन्न सफलताहरु हासिल गर्दै आइरहेको थिएँ । 
२०५६/५७ सालतिर शेयर बजार बुलिस ट्रेण्डमा रहेको थियो । आफूले खरिद गरेको शेयरहरुको मूल्य ४-५ गुणा सम्म बढेको थियो । हुन त म शेयर बजारको खेलाडी थिईन र शेयरलाई नै आफ्नो कमाई खाने पेशा पनि बनाएको होइन ।  बैंकमा बचत गर्नु भन्दा शेयरमा लगानी गरे प्रतिफल राम्रो हुने मेरो निर्णयले नै म शेयर बजार तर्फ आकर्षित भएको थिएँ । शेयर बजारको शेयर बढेको समयमा बेच्ने र शेयर बजार घटेको बेला किन्ने सामान्य नियम अनुसार मैले आफूसंग भएका सम्पूर्ण शेयरहरु बेचिदिएको थिएँ र उक्त पैसाले काठमान्डौको मण्डीखाटारमा एउटा सानो घर बनाएको थिएँ ।  काठमाण्डौ सरुवा भएर आएको १२ वर्ष पछी आफ्नो घरमा बस्ने सौभाग्य जुरेको थियो । तर प्लाष्टर र रंगरोगन गर्न पैसा पुगेन त्यसैले मैले श्रीलंका मर्चेन्ट बैंक एण्ड फाइनान्सबाट १ लाख ५० हजार टर्म लोन लिएर घरको बाँकी काम पूरा गरेको थिएँ । 
यसैबीच नेपाल राष्ट्र बैंकले अधिकृत द्वितीय पदका लागि आन्तरिक प्रतियोगिताबाट बढुवाको लागि सूचना निकालेको थियो । म फेरी उक्त परीक्षाका लागि पूर्ण रुपमा जुटेको थिएँ । अधिकृत तृतीय परीक्षाको अनुभव र पाठ्य सामाग्रीहरु अझै आफैंसंग भएकाले थप उच्च स्तरको तयारीका लागि म ब्रिटिस हरुबाट सामाग्रीहरु काउन्सिलको लाइब्रेरी, नेपाल राष्ट्र बैंकको पुस्तकालय र अन्य साथीभाई र शुभेच्छुकहरुबाट बाँकी आवश्यक पाठ्य सामाग्रीहरु जुटाएर नतिजा आफ्नो पक्षमा पार्न जुटिसकेको थिएँ । 
आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने पद संख्या ६ वटा भएको र प्रतियोगिताको पनि राम्रो तयारी गरेकोले नै सजिलै सफलता हासिल भएको थियो । प्रधान सहायक पदमा बढुवा हुन लामो समय लागेतापनि गृह त्याग गरि दुई वटा भाडाको कोठामा गर्दै गरिएका ति अनेकन संघर्षले जीवन यात्रालाई अझ निखारिदिएर सहज बनाईदिएको थियो । भने काठमाडौं आएको १० वर्षको छोटो समयमा दुई पटक बढुवा भई अधिकृत द्वितीय (उपनिर्देशक) पदमा पुगेको थिएँ । एक पछी अर्को गर्दै परीक्षाको निरन्तर तयारी र लगातारको सफलताले बैंकिंग पेशा अन्तर्गत कुनैपनि नयाँ काम र प्रतिस्पर्धाका लागि मेरो आत्माबल अझै उच्च भएको थियो । 
अधिकृत द्वितीय पदमा बढुवा भएपछी म फेरी एकपल्ट मेरो जीवन यात्राको कम्फर्ट स्थितिमा पुगेको थिएँ । त्यो अवधिमा म भाडाको कोठाबाट नयाँ निर्माण भएको आफ्नै घरमा प्रवेश गरिसकेको थिएँ । ४ किलोमिटर हरेक दिन पैदल हिडेर १२ वर्ष देखि अफिस जाने आउने गरिरहेको मैले मोटरसाइकल चढ्न थालिसकेको थिएँ । म मेरो जीवनको स्थितिमा खुसीसाथ सन्तुष्ट भएर आफ्नो बाँकी जीवन रमाइलो संग व्यतित गर्न सक्थें तर मेरो मन एन्जोय गर्नु भन्दा फेरी अर्को एउटा चुनौतीको सामना गरेर नयाँ केहि सिकौं र अर्को सफलता हासिल गरौँ भन्ने तर्फ सल्बलाउन थालिसकेको थियो । म के नयाँ गरूँ भनेर सोची मात्र रहेको थिएँ राष्ट्र बैंकले नै मलाई अर्को एउटा चुनौतीपूर्ण कामका लागि मलाई काठमाडौं बाहिर जाने प्रस्ताव गरेको थियो । 
नेपाल राष्ट्र बैंक ऐन २०१३ संशोधन भई नेपाल राष्ट्र बैंक ऐन २०५८ लागु भएको थियो । नयाँ ऐन बमोजिम राष्ट्र बैंकले कुनै पनि वित्तीय संस्थाहरुमा उक्त संस्थाको चुक्ता पूँजीको १० प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था भएको थियो । यस अघि राष्ट्र बैंकले ५ वटै ग्रामीण विकास बैंकहरुमा ५० देखि ६५ प्रतिशत सम्म शेयर लगानी गरेको थियो । बढी भएको शेयर लगानीलाई १० प्रतिशतमा घटाउनु  पर्ने अवस्थाको सृजना भएको थियो । 
पश्चिमान्चल ग्रामीण विकास बैंकमा नेपाल राष्ट्र बैंकको ६२ प्रतिशत शेयर लगानी थियो । यस संस्थाबाट ५२ प्रतिशत शेयर विक्री गर्ने सन्दर्भमा १० प्रतिशत लघुवित्त संस्थालाई र ४२ प्रतिशत उक्त बैंककै महिला समूहका सदस्यहरुलाई विक्री गर्ने नीतिगत निर्णय गरिएको थियो । उक्त निर्णयको कार्यान्वयन गर्न उक्त बैंकको कार्यकारी निर्देशकको पदका लागि राष्ट्र बैंक द्वारा मलाई प्रस्ताव आएको थियो । यो कार्य पनि मेरो लागि चुनौतीपूर्ण नै थियो तर चुनौतीहरुको  सामना गर्दै पून अर्को सफलता हासिल गर्ने एक प्रकारको लत लागिसकेको हुँदा मैले उक्त चुनौतीलाई सहर्ष स्वीकारेको थिएँ । 
 
 

 
 
 
 
 

No comments