महंगियो तरकारी
दशैं र तिहार तिर बाट महंगीन थालेको तरकारी बजार अझै सामान्य हुन सकेको छैन । दशैं र तिहारको चाडमा तरकारीको माग बढ्ने तर आपूर्ति बढ्न नसक्ने कारणले तरकारीको मूल्य बढ्नु स्वाभाविकै हो । तर बर्षातको मौसम शुरु भई आपूर्तिमा सुधार हुँदा पनि बढेको तरकारी मूल्य सामान्य हुन नसक्नु अचम्म हो । खासमा उत्पादकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको बीचको बिचौलियाहरुको नाफा मार्जिन बढ्दै जाने प्रवृतिले गर्दा तरकारीको मूल्य असामान्य रुपले बढ्दै गएको बुझिन्छ ।
केही समय पहिले आफ्नै करेसाबारीमा धेर थोर तरकारी उत्पादन गरी उपभोग गर्ने चलन रहेकोमा विभिन्न कारणहरुले गर्दा व्यक्तिगत तरकारी उत्पादनमा पनि ह्रास आउन थालेकाले तरकारीको माग बढ्न थालेको पाइन्छ । एकातर्फ जनसंख्या बढ्दै जाने र अर्को तर्फ व्यक्तिगत तरकारी उत्पादन घट्दै जाँदा बढेको तरकारीको माग पूरा गर्न तरकारी उत्पादक कृषकहरुले अप्राकृतिक उपायहरु पनि गर्ने प्रवृतिहरु तरकारीहरूमा देखिन थालेको छ । तरकारीको आकार र तौल बढाउन अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग बढ्दै गएको ट थियो नै अब अघिल्लो दिन इन्जेक्शन दिएर भोलिपल्ट तरकारीको आकार बढाउने प्रवृति कृषकहरुले अचेल प्रयोग गर्न थालेकाछन् । हेर्दा चिल्ला र ताजा देखिने तरकारी तुरुन्तै नपकाएर घरमा २/३ दिन राख्ने हो भने आफै कुहिएर खान योग्य हुँदैनन् । तर त्यस्ता विषादीयुक्त तरकारी बजारबाट ल्याई तुरुन्तै पकाएर खाईरहेका हुन्छौं, जुन स्वास्थ्यको लागि निकै हानिकारक देखिन्छ ।
तरकारीको आपूर्ति बढाउने बहानामा जनस्वास्थ्यलाई हानी पुग्ने गरी गरिएको यस्तो तरकारी उत्पादन गर्ने प्रवृतिलाई सरकारले अनुगमन गर्नु पर्दछ र साथै उपभोक्ताहरुले पनि सजग भई यस्तो तरकारी खरिद नगरी उत्पादकलाई दुरुत्साहित गर्नु पर्दछ । अब फेरी आफ्नै करेसाबारी, गमला र कौसीमा थोर बहुत तरकारी उत्पादन गर्ने कि ?

No comments