हेटौंडाका उद्योगीलाई राहत
हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले अब विद्युत्को समस्या भोग्न नपर्ने भएको छ । उद्योगहरूले अब तीन सिफ्ट उत्पादन गर्न सक्ने सम्बन्धित पक्षले जानकारी दिएको छ । विगतमा विद्युत् आपूर्तिको समस्याले गर्दा उद्योग मुस्किलले २ सिफ्ट सञ्चालन हुँदै आएका थिए ।
गत आइतबारदेखि ५ मेगावाट विद्युत् थप भएपछि औद्योगिक क्षेत्रका उद्योगहरूले राहत महसुस गरेका छन् । विद्युत्को अभावमा सञ्चालन हुन नसकेका नयाँ उद्योगहरू पनि सञ्चालनमा आउने उद्योगीहरूले जनाएका छन् । औद्योगिक क्षेत्रका पुराना उद्योगहरू विद्युत्को अभावमा क्षमताअनुसार सञ्चालनमा आएका थिएनन् भने नयाँ उद्योगहरू विद्युत्को अभावले सुचारु नै हुन सकेका थिएनन् । औद्योगिक क्षेत्रमा ५ मेगावाट विद्युत् थप भएकाले उद्योगीहरूलाई थप राहत पुगेको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले बताउनु भएको छ ।
औद्योगिक क्षेत्रभित्र प्राधिकरणले दैनिक २ घण्टा मात्र लोडसेडिङ गर्ने गरेको छ । त्यसलाई पनि हटाउने तयारीमा प्राधिकरण लागिरहेको बुझिएको छ । औद्योगिक क्षेत्रभित्र ९४ वटा उद्योगहरू सञ्चालनमा छन् । २९ वटा उद्योगहरू निर्माणाधीन अवस्थामा छन् भने ९ वटा उद्योगहरू बन्द छन् । ६ वटा उद्योगले विद्युतको अभावमा उत्पादन सुरु गर्न नसकेको सम्बन्धित पक्षले बताएको छ ।

No comments