सुरुङमार्ग निर्माणबाट समृद्धिको यात्रा
जटिल भौगोलिक बनावट र विषम
हावापानीका कारण नेपालमा यातायातको सुविधा छिटो, छरितो, भरपर्दो
र सुरक्षित हुन सकेको छैन । सहज, सरल र
तीव्र तर सुरक्षित यातायातको सुविधा नै आर्थिक उन्नतिको आधारशिला हो । त्यसैले
यातायातको सुविधा जति छिटो, छरितो, मितव्ययी
र सुरक्षित बनाउन सक्यो आर्थिक विकासको गति पनि उति नै छिटो र दिगो हुन्छ ।
नेपालको सन्दर्भमा यातायात
सुविधालाई भरपर्दो, दिगो, सुरक्षित, वातावरणमैत्री
र कम खर्चिलो बनाई सामाजिक–आर्थिक एकीकरणमार्फत आर्थिक क्रियाकलाप
विस्तार गर्न र सेवा प्रवाहको प्रभाकारिता बढाउन सुरुङमार्गको विकासले महत्वपूर्ण
योगदान गर्न सक्छ ।
भूपरिवेष्टित देश र पहाडी भू–बनोट
भएकाले नेपालमा जल यातायातको सम्भावना निकै न्यून छ । विषम हावापानी, जटिल
भौगोलिक बनावट र निकै खर्चिलो हुने हुनाले हवाई यातायात धेरै सर्वसाधारणको
पहुँचभन्दा बाहिर छ । त्यसैले सडकमार्ग नै नेपालमा यातायात पूर्वाधारको मेरुदण्ड
हो । तथापि,
देशको विशिष्ट भौगोलिक अवस्थिति र भौगर्भिक
विचित्रताका कारण सडक निर्माण, संरक्षण
र मर्मत–सम्भार
चुनौतीको विषय बनेको छ ।
निर्माण भएको सडक पनि उकालो, भिरालो
र साँघुरो भएकाले जोखिम नै जोखिमले भरिपूर्ण छ । यस्तो अवस्थामा पहाडका साँघुरा
घुम्तीहरूको संख्यामा कटौती गर्न, अप्ठ्यारो
भूगोलमा घुमाइफिराइ बनाउनुपर्ने सडकलाई सीधा र छोटो पार्न, यात्रालाई
छिटो,
सुरक्षित र कम खर्चिलो बनाउन सडक निर्माणको क्रममा
सुरुङ प्रविधिको अवलम्बन गर्नु अपरिहार्य भइसकेको छ ।
८३ प्रतिशत भूभाग हिमाल र पहाड
भएको मुलुकमा सुरुङ प्रविधि नअपनाई पूर्वाधारका ठूला काम गर्न निकै कठिन हुने
जान्दाजान्दै पनि निर्माण लागत उच्च हुने एउटै कारण देखाएर सुरुङमार्गको
निर्माणलाई राज्यले प्राथमिकता राखेको पाइँदैन । त्यसैले नेपालमा प्राविधिक र
वातावरणीय हिसाबले अति नै वैज्ञानिक सुरुङ प्रविधि आजसम्म पनि ओझेल परिरहेको छ ।
हुन त चालू आवधिक योजनामा
यातायात पूर्वाधारअन्तर्गत सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन सुरुङ प्रविधिको
अवलम्बन गरिने कार्यनीति राखिएको छ । साथै, त्रिभुवन
राजपथको नागढुङ्गामा सुरुङ निर्माण गर्ने, टोखा–गुर्जे
भन्ज्याङ सडक,
सिद्धार्थ राजमार्गको सिद्धबाबालगायतका स्थानमा
सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने कार्यक्रम उल्लेख छ । तर, सडक
विभागमा सुरुङमार्ग एकाइ बनाउनुबाहेक अहिलेसम्म देखिने गरी केही प्रगति भएको
पाइँदैन ।
विश्वको सन्दर्भमा हेर्ने हो
भने युरोपलगायत विकसित देशले सुरुङमार्गको उपयोगबाट आर्थिक विकासमा छलाङ मारेको
पाइन्छ । छिमेकी देश चीन र भारतले सुरुङ प्रविधि अपनाई यातायात सुविधालाई छिटो, भरपर्दो
र सुरक्षित बनाइरहेका छन् । छिमेकी चिनको ८ हजार ५२ किलोमिटर सडक सुरुङमार्गले
ओगटेको छ । सन् १७५० मा ३० वर्ष लगाएर पहिलो पटक १ सय ८० मिटर लामो सुरुङ बनाएको
जापानमा अहिले ४ हजार किलोमिटरभन्दा बढी सुरुङमार्ग बनेको छ ।
भारतले समेत हजारौं किलोमिटर
सडक सुरुङ प्रविधिको अवलम्बनमार्फत निर्माण गरेको छ, तर
आजभन्दा ठीक सय वर्षअगाडि स्वदेशी डिजाइन, लगानी
र जनशक्तिबाटै दक्षिण एसियाकै पहिलो सुरुङमार्ग बनाएको नेपालमा भने सुरुङमार्गको
अवलम्बनलाई बेवास्ता गरिएको छ । मकवानपुर
जिल्लामा वि.सं. १९७४ निर्मित चुरियामाईको सुरुङ नेपालकै पहिलो सुरुङमार्ग हो ।
निर्माणपछि दशकौंसम्म सञ्चालन
भएको उक्त सुरुङ हाल बन्द भइसकेको छ । त्यसयता नेपालमा हालसम्म करिब २ सय किलोमिटर
सुरुङ निर्माण भएको तथ्याङ्क छ । तर, नेपालमा
सुरुङमार्गको निर्माण केवल विद्युत् उत्पादनको प्रयोजनमा मात्रै सीमित गरिएको छ ।
हालसम्म नेपालमा निर्माण भएका सुरुङहरू विशेष गरी विस्फोटक पदार्थको प्रयोग
पद्धतिबाट निर्माण भएका छन् ।
सुरुङमार्गको निर्माणलाई चुस्त
र प्रभावकारी बनाउन ट्युनल बोरिङ मेसिन (टीबीएम) लगायतका संसारमा प्रचलित आधुनिक र
वैज्ञानिक सुरुङ खन्ने प्रविधि नेपालमा भिœयाउनु अति आवश्यक छ । यसका लागि
चाहिने दक्ष प्राविधिक र जनशक्ति देशभित्रै उपलब्ध छन् ।
तत्कालको लागि सुरुङ निर्माणको
लागत स्वभावैले उच्च हुन्छ । तर, सुरुङमार्गले
अथाह आर्थिक अवसर सिर्जना गर्न सक्छ । डिजेल–पेट्रोलको र समयको निकै बचत
हुन्छ । वातावरण संरक्षणका हिसाबले पनि सुरुङमार्ग उपयोगी हुन सक्ने देखिन्छ ।
सडकमार्गको मर्मत–सम्भारमा
लाग्ने खर्चको पनि व्यापक कटौती हुन्छ । यी सबैको हिसाब गर्ने हो भने दीर्घकालीन
रूपमा सुरुङमार्गको लागत सबैभन्दा मितव्ययी हुने मात्र हैन, यसले
हाम्रो सडक यातायातलाई सस्तो, छोटो, छिटो, भरपर्दो
र सुरक्षित बनाउने निश्चित छ ।
सुरुङमार्गले ग्रामीण
अर्थतन्त्र र सहरी अर्थतन्त्रलाई मात्र हैन, भिन्न–भिन्न
भौगोलिक प्रदेशहरूबीचको दूरीलाई समेत निकै छोटो बनाइदिन्छ । राष्ट्रिय एकता आर्थिक
अन्तरनिभर्रताले मात्रै बलियो हुन्छ । यदि सुरुङमार्गको पर्याप्त विकास हुने हो
भने हिमालका बासिन्दा बिहानै तराई झरेर स्याउ बिक्री गरी तराईको चामल खरिद गरेर
भात पकाउन घर पुग्ने अवसर प्राप्त हुन सक्छ ।
यसले गर्दा अर्थतन्त्र बलियो त
बन्छ नै,
सामाजिक एकीकरणको माध्यमबाट राष्ट्रिय एकता थप
बलियो हुन्छ । हिउँदमा सुख्खा पहिरो, वर्षायाममा
बाढीपहिरो,
साँघुरो सडक र अवैज्ञानिक घुम्तीका कारण नेपालमा
दिनहुँ हुने सडक दुर्घटनामा अकालै ज्यान गुमानेको संख्यामा वृद्धि भइरहेको छ ।
जोखिमयुक्त सडकका सम्भावित स्थानमा सुरुङ प्रविधि अवलम्बन गर्ने हो भने सडक
दुर्घटनामा कमी आई जनताको जीउज्यान र धनजनको क्षति कम हुन्छ । नेपालको वैदेशिक
व्यापारमा आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।
सुरुङमार्गको माध्यमबाट सडकको
दूरी घटाउन हो भने पेट्रोलियम पदार्थको मागमा कमी आई वैदेशिक व्यापार सन्तुलनमा
योगदान पुग्न सक्छ । त्यस्तै ढुवानी खर्चमा कटौती भई वस्तु तथा सेवाको मूल्य
सस्तिँदा उपभोक्तालाई राहत मिल्न सक्छ । आर्थिक उन्नतिको लक्ष्य भेट्टाउन
पूर्वाधारमा पर्याप्त लगानी गर्नु जरुरी छ । तर, अहिले
कुनै पनि पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको विषय सबैभन्दा चुनौतीपूर्ण
भएको छ ।
सुरुङ प्रविधिको अवलम्बनले यो
चुनौती कम गर्न सहयोग गर्न सक्ने देखिन्छ । त्यसैले, पहाडको
भित्ता कोतर्दै,
जंगल र जीवजन्तुको वासस्थानको विनाश गर्दै, जथाभावी
मोटर बाटो खन्ने अहिलेको प्रवृत्तिको अन्त्य गर्दै देशका मुख्य व्यापारिक
केन्द्रहरूलाई जोड्ने छिटो, छोटो र
सुरक्षित मूलमार्गका रूपमा सुरुङमार्गको अवलम्बन गर्नु जरुरी भइसकेको छ ।
आर्थिक समृद्धिको सूत्र मानिने
सुरुङमार्गको विकास र विस्तारका लागि राज्यले प्राथमिकतापूर्वक कार्य गर्नुपर्ने
बेला आएको छ । बाटो छोटो बनाउन सके मात्रै आर्थिक विकासको गति छिटो बनाउन सकिने
हुन्छ । नेपालको सन्दर्भमा सडकको लम्बाइ घटाउने एक मात्र उपाय सुरुङमार्गको
अवलम्बन हो ।
विश्वका धेरै विकसित देशहरूले
मात्र हैन,
छिमेकी मुलुकले समेत सुरुङ प्रविधिको माध्यमबाट
सडक यातायातलाई छोटो, छिटो, भरपर्दो
र सुरक्षित बनाएको सन्दर्भमा नेपालले यसको अवलम्बनका लागि ढिलो गर्नु हुँदैन ।
राज्य र अन्य सरोकारवालाको सकारात्मक पहल भएको खण्डमा सुरुङमार्गको निर्माणका लागि
नेपालमा सीप,
पुँजी र प्रविधिको अभाव हुने देखिँदैन ।


No comments