Add

Add

साताको कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ४२ अंकले घटेको छ । साताभरको कारोबारमा पहिलो दिन (आइतबार) परिसूचक बढे पनि बाँकी सबै दिन नेप्से उच्च अंकले घटेको थियो । आइतबारको तुलनामा बिहीबारसम्म नेप्से साढे ३७ प्रतिशतले मात्र घटेको देखिन्छ । अघिल्लो साता बाढीले अधिकांश भूभाग डुबानसँगै तराई क्षेत्रको जनजीवन कष्टकर बनेसँगै सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको थियो । गत साता परिसूचकमा केही सुधार देखिएको थियो । तर, यो साता सुधारले निरन्तरता पाउन सकेन । यसकारण नेप्से करिब डेढ महिनाअघिको अवस्थामा (१६ सयभन्दा तल) ओर्लेको छ । बिहीबार सेयर कारोबार बन्द हुदाँ नेप्से परिसूचक १ हजार ५ सय ८०.०३ अंकमा छ । 
यो साता उत्पादन तथा प्रशोधनबाहेक सबै समूहअन्तर्गत कम्पनीका सेयरधनीका लागि सुखद रहेन । कारोबारमा रहेका सबै समूहको परिसूचक ऋणात्मक रहेपछि बहुसंख्यक लगानीकर्ताको सम्पत्ति घट्यो । यसकारण यो साता सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब ४४ अर्ब रुपैयाँले साँघुरियो । 
चार दिनको कारोबारमा बिमा समूहको परिसूचक सबैभन्दा बढी ३ सय ३२.९३ अंकले घट्यो । यसैगरी, बैंकिङ समूहको परिसूचक ३९.२५, विकास बैंकको ९.४५, होटलको ४५.६५, जलविद्युत्को ३४.३६, वित्त कम्पनीको ३६.०३ र अन्यको ८.१ अंकले बढ्यो । तर, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७१ अंकले बढ्यो । 
साताभरको कारोबारमा बैंकिङ समूहको बजार हिस्सा साढे ३२ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा २६ प्रतिशत थियो । सोही अवधिमा बिमा समूहको हिस्सा १८.७ प्रतिशत देखिन्छ । गत साता कुल कारोबारमा बिमा समूहले २५.३ प्रतिशत अंश ओगटेको थियो । यो साता लघुवित्त संस्थाको सेयर कारोबार हिस्सा उल्लेख्य रूपमा बढेको छ । कुल कारोबारमा लघुवित्त समूहअन्तर्गतका कम्पनीको कारोबार हिस्सा साढे २४ प्रतिशत छ । कारोबार हिस्सा वृद्धिका आधारमा लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । यसैगरी, जलविद्युत्को ४.७ प्रतिशत, संस्थापक सेयरको ८.१९ प्रतिशत र विकास बैंकको साढे ६ प्रतिशत रहेको नेप्सेले जनाएको छ । 
यो साता कारोबार रकम (१८ करोड ४२ लाख ७० हजार रुपैयाँ) का आधारमा छिमेक लघुवित्त विकास बैंक सबैभन्दा अघि छ । सेयर संख्या (३ लाख २६ हजार कित्ता) का आधारमा एनआसी एसिया बैंक अग्रस्थानमा देखिन्छ । तर, कारोबार संख्या (७ हजार ८ सय ७८ वटा) का आधारमा हिमालयन पावर पार्टनर सबैभन्दा अघि छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन मात्र खुला रह्यो । विगतमा जस्तै गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । 






No comments

Powered by Blogger.