खाद्यान्न र तरकारीमा भारी मूल्य वृद्धि
तराईका बाढी प्रभावित क्षेत्रमा
खाद्यान्नको मूल्य आकासिएको छ । खाद्यान्नका सबै स्टक नष्ट भएपछि वर्षाअघिको
तुलनामा खाद्यान्नको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको विश्व खाद्य
कार्यक्रम (डब्लूएफपी) ले जनाएको छ ।
गतसाता सार्वजनिक गरिएको
सबैभन्दा प्रभावित मुख्य १० जिल्लाको वर्तमान अवस्था बारेको प्रतिवेदनले हरियो
तरकारीको मूल्य पाँच गुणासम्म बढेको देखाएको छ । निरन्तरको वर्षापछिको डुबान घटे
पनि अत्यावश्यक वस्तुको आपूर्ति सहज भई नसक्दा खाद्यान्न तथा तरकारीजन्य वस्तुको
मूल्यवृद्धि अकासिएको हो ।
कृषि विकास मन्त्रालयका अनुसार
डुबान प्रभावित क्षेत्रमा मौज्दात सबैजसो अन्न डुबेर नष्ट भएको छ भने बारीमा
लगाइएका तरकारीसमेत शतप्रतिशत नष्ट भएको छ । लगाइएकै बाली नष्ट भएको र नयाँ
बाली लगाउनसमेत सहज नभएकाले बाढी प्रभावित जिल्लामा खाद्य असुरक्षाको अवधि लम्बिन
सक्ने डब्लुएफपीको प्रक्षेपण छ ।प्रतिवेदनअनुसार प्रभावितमध्ये २९ हजार ७ सय जना
गम्भीर खाद्य असुरक्षित (चरण ४) को अवस्थामा छन् । डब्लूएफपीको सहयोगमा सञ्चालनमा
रहेको नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) ले चौथो चरणलाई घरधुरीले
जीविकोपार्जनका साधनहरू नगुमाइकन खाद्य तथा गैरखाद्य आवश्यकताहरू परिपूर्ति गर्न नसक्ने
अवस्थाका रूपमा चित्रण गरेको छ ।
डब्लूएफपीको प्रतिवेदनअनुसार
खाद्य असुरक्षाको चरण तीनमा पर्ने जिल्लामा बर्दिया, बाँके, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सुनसरी
र मोरङ छन् । कुल ७२७ गाउँ विकास समिति तथा स्थानीय निकाय प्रभावित भएकोमा चरण तीनमा
२८१ र चरण चारमा २१५ छन् । आगामीमध्ये नोभेम्बरसम्म यी क्षेत्रका ३३३ स्थानीय तह
तथा गाविसहरू चरण तीनमा र १७१ चरण चारमा पुग्ने प्रक्षेपण छ ।

No comments