Add

Add

व्यावसायिक बन्दै हेटौंडा सिमेन्ट उद्योग

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समय व्यावसायिक बन्दै गइरहेको छ । स्थापनाको ३१ वर्षपछि उद्योगले अहिले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरिरहेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा २०३३ सालमा १३५ बिगाहा क्षेत्रफलमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ साल मङ्सिरदेखि उत्पादन सुरु गरेको भए पनि लक्ष्य अनुसार उत्पादन गर्न सकेको थिएन ।
पछिल्लो समय कम्पनीको क्षमता बराबरको सिमेन्ट उत्पादन गर्न लागेको उद्योगका महाप्रबन्धकले  बताउनु भएको छ । उहाँका अनुसार प्रतिदिन ७५० टन उत्पादन क्षमता भए पनि अहिले ७०० टन उत्पादन भईरहेको र आगामी दिनमा त्यसलाई बढाएर शतप्रतिशत उत्पादन गर्ने सोच बनाइएको छ।
उद्योग सञ्चालनका क्रममा सुरुका दिनमा चुनढुङ्गाको समस्या भए पनि अहिले मकवानपुरको भैँसे, ओखरे र धादिङको जोगीमाराबाट चुनढुङ्गा ल्याएर सिमेन्ट उत्पादन गरिरहेको छ । देशमा भएको राजनीतिक उतारचढावका कारण लामो समयदेखि धराशायी बन्दै गएको उद्योग पछिल्लो समय सरकारको सहयोग र कर्मचारीको कार्यदक्षताका कारण उत्पादन वृद्धि गर्न सकेको महाप्रबन्धकको दावी रहेको छ । केही वर्षयता विद्युत भारका कारण थोरै सिमेन्ट उत्पादन गरेको उद्योगले चालु आवको १० महिनामा एक लाख २३ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गरिसकेको छ । केही वर्ष अगाडिसम्म उद्योगले वार्षिक ७० देखि ८० हजारमात्र क्लिङ्कर उत्पादन गर्दै आएको थियो । चालु आवमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको महाप्रबन्धकले जानकारी दिनुभएको छ।

एक सय ५८ डिलर रहेको उक्त उद्योगबाट उत्पादन भएको सिमेन्ट हेटौँडा र काठमाडौँमा बिक्री हुँदै आए पनि आगामी दिनमा बुटवल र पोखरामा समेत बिक्री वितरण गर्ने लक्ष्य छ । अहिले प्रतिबोरा भ्याटसहितको सिमेन्टको ७९५ रुपैयाँ ५२ पैसा रहेको छ ।

No comments

Powered by Blogger.