राजस्व संकलनमा वृद्धि
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष
०७३/७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २०
प्रतिशतले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष ०७३/७४ वैशाखसम्मको राजस्व संकलनको
लक्ष्य १ खर्ब ७९ अर्ब २८ करोड ४७ लाख ८७ हजार रहेकोमा १ खर्ब ८८ अर्ब ८५ करोड ७६
लाख ८४ हजार संकलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको छ । यो गतवर्षको
तुलनामा २० प्रतिशतले बढी हो ।
शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ १
खर्ब १ अर्ब ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि
करतर्फ ४८ अर्ब ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्कतर्फ ३७ अर्ब २८ करोड ५७ लाख
१६ हजार संकलन भएको छ ।
सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ
आयकर, वहालकर, ब्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि
करतर्फ १०१ प्रतिशत र अन्तःशुल्कतर्फ १०८ प्रतिशत हो । 
त्यसैगरी शिक्षा सेवा शुल्क र
स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार र ७८ करोड ९६ लाख ८१ हजार संकलन
भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा
करतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ ।
गत वर्षको तुलनामा आयकर वृद्धिदर १५
प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत,
अन्तःशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क
वृद्धिदर ३२ प्रतिशत छ । आर्थिक वर्ष ०७३/७४ को वार्षिक लक्ष्य २ खर्ब ३३ अर्ब ६०
करोड १५ लाख १७ हजार रुपैयाँ संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।
 
 
 
 
 
 
 

No comments