Add

Add

बिमा बजारमा दक्ष जनशक्तिको अभाव

नेपालको बिमा बजारमा नयाँ कम्पनीहरू थपिएसँगै जनशक्तिको अभाव हुने भएको छ । दक्ष जनशक्तिको अभाव खेप्दै आएको बिमा व्यवसायलाई नयाँ कम्पनीहरूको आगमन थप चुनौतीपूर्ण हुने देखिएको हो । हाल नेपालमा ९ वटा जीवन बिमा, १७ वटा निर्जीवन र एउटा पुनर्बिमा कम्पनी सञ्चालित छन् । त्यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् ।
बिमा समितिमा लाईसेन्स माग गर्दै पुगेका १० जीवन बिमा कम्पनीलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थात् १० वटा नयाँ जीवन बिमा कम्पनीले थपिने निश्चित प्रायः छ । योसँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १९ पुग्नेछ । त्यस्तै, ४ वटा निर्जीवन बिमा कम्पनीहरू लाइसेन्सको प्रक्रियामा छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४२ पुग्नेछ । नयाँ कम्पनीहरूमा कर्मचारीको माग बढेसँगै बजारमा जनशक्ति अभाव सिर्जना हुने भएको छ । 
विगत लामो समयदेखि अबरुद्ध बिमा कम्पनीको लाइसेन्सको प्रक्रिया समितिमा नयाँ नेतृत्व चयन भएसँगै खुलेको हो । नेपालमा बिमाको बजार अधिक सम्भावना रहेको भन्दै समितिले नयाँ कम्पनीहरूलाई लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको हो । तर नेपालको बिमा नीति अनुदार हुनु, बिमामा दक्ष जनशक्ति अभाव हुनु, बिमाप्रति मानिस सचेत नहुनुले भोलिको दिनमा बिमा व्यवसायमा संकट निम्तन सक्ने तर्क विज्ञहरुको छ तैपनि, बजारमा कम्पनीहरू थपिँदा सम्भावनाका ढोकाहरू पनि खुल्दै जाने विमा विज्ञहरु बताउँछन् । 
नेपालको जीवन बिमा व्यवसायको ५० प्रतिशत हिस्सा नेपाल लाईफ इन्स्योरेन्स र एलआईसी नेपालले नै ओगटेको छ । यी कम्पनीहरूले दिँदै आएको बोनस दर अत्याधिक छ ।
अब आउने कम्पनीले बजार हिस्सा बढाउने हो भने यिनै कम्पनीहरूको दाँजोमा बोनस दर वितरण गर्नुपर्ने हुन्छ । जसको सम्भावना न्यून छ । त्यसैले नयाँ कम्पनीहरूको पोलिसी खरिद गर्ने विमितहरू ठगिने विज्ञहरू बताउँछन् ।
त्यस्तै, हाल सञ्चालित जीवन बिमा कम्पनीहरूमध्ये एउटा ज्वाइन्ट भेन्चर, एउटा विदेशी कम्पनीको शाखाको रूपमा सञ्चालित छ भने राष्ट्रिय बिमा संस्थान सरकारी कम्पनी हो । त्यस्तै, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफूलाई बलियो कम्पनीको रुपमा स्थापित गरिसकेको छ ।
बाँकी रहेका कम्पनीमध्ये पछिल्लो पटक खुलेका प्राइम, सूर्या, एशियन र गुराँश लाईफ इन्स्योरेन्स कम्पनीको अवस्था नाजुक छ । त्यसैले समितिले रुग्ण अवस्थामा रहेका यस्ता कम्पनीलाई नै चुस्त बनाउनु पहिलो प्राथमिकता रहेको विज्ञहरू बताउँछन् ।


No comments

Powered by Blogger.