Add

Add

२५ मिटर सडकको ज्यादती सामन्ति संस्कारको निरन्तरता हो

                                                                                                                          ➽    सुरेन्द्र शाक्य
नेपालमा एक पछि अर्को अदुरदर्शि निर्णय हुँदै गएको परिणाम अहिले समाज र देश बस्नै नसक्ने अबस्थाबाट गुज्रिरहेको छ। देश पलायन सामन्य भैसक्यो र त्यसले कल्पनै गर्न नसक्ने समस्या लिएर आएको छ। विगत दुई दशकमा हाम्रो देश अस्थिरता, अधर्म र अझ भयन्कर देश नै विभाजनको धरातल तर्फ गैरहेको सत्य नकार्न सकिंदैन। शिक्षा, प्रशासन, सामाजिक रहनसहन, संस्कार र राजनीति सबै दिन दिनै दीनहीन र दुखमय दिशा तर्फ बढिरहेको छ। राजनैतिक परिवर्तन पछि प्रजातन्त्रको सुन्दर सपना देखाएर नेपाली जनताको आकांक्षा र सपनाको कुठाराघात गर्ने काम बाहेक अरु केही हुन सकेको छैन। राष्ट्रिय र स्थानिय तहमा यही विकराल समस्या हावि भएको देख्न सकिन्छ।
हेटौंडामा अहिले सडकको २५ मिटर विस्तारको कुरालाई लिएर शक्तिको आडमा नैतिकताको नै अबमुल्यन भैरहेको छ। भत्काउन कसैले रोक्न नसक्ने भनेर संचार माध्यम मार्फत प्रसासकहरु कुर्लंदैछन् । नेपालमा यस्तै हो। कुनै तुच्छ प्राणीलाई सानो तिनो शक्ति प्राप्त भए पछि समाजमा जनता र समाजको हित भन्दा पनि शक्तिको र अहंको प्रदर्शन नै प्रमुख उद्देश्य हुने गरेको छ।
समाज के हो, राजनैतिक बिकास के हो, संस्कार के हो, ईतिहास किन महत्वपूर्ण छ, पहिचान किन अमिट्यान्न हुनु पर्छ यी सब कुराको हेक्का शक्ति प्रदर्शनको मादले विर्साईराखेको हुन्छ।  यिनीहरुले यो बिर्सन्छन कि यदी अचानोमा आफू पर्ने भए, आफ्नो पुर्खाको र जीवनभरको मेहनत एक पलमै मेटिंने भए कस्तो हुन्छ ? एउटा सानो शहरको ईतिहास नै मेटिंदा त्यसको असर के हुन्छ? विनास भन्दा विकास गर्ने सोचको अभाव र बहुजनहिताय शिक्षा नभएको अबस्थामा हेटौंडाका जनता कालान्तर सम्म पनि पिछडिएको समाजमा बस्न बाध्य हुने अबस्था सृजना भएको छ।
अहिले निर्वाचित जन प्रतिनिधि स्थानिय तहमा नभएको अबस्था रहेको छ। जनप्रतिनिधि भनाउँदा राजनैतिक दलहरु भागबन्डामा रमाईरहेका छन् या त विदेशीको दलालीमा खुशि छन्। देश र समाजको भलो सोच्ने क्षमता यहाँको नेतृत्व वर्गमा नै छैन। आफूलाई वुद्धिजीवि कहलाउन पाउनुमा नै मख्ख बनेकाहरुले समाजमा परि आएको समस्याको समधान दिन असक्षम नै रहेका हुन्छन्। यो यथार्थ हो हाम्रो।
यदि यहाँ कोही भैदिएको भए, तिनले सोच्थे कि समाजमा नियम कानुनको उद्देश्य के हो? समाजलाई सुख र शान्ति तिर व्यबस्थित गर्ने हो की धन जन र हजारौं जनताको जीवन भरीको आर्जनको दोहोलो गर्ने हो। सानो बजार जुन हेटौंडाको लगभग ५० वर्षको विकासको साक्षी हो त्यो जगेर्ना गरेर आधुनिकता अपनाउने की ईतिहासको कुनै पनि जगेर्ना नगरेर नाम निशान नै मेटाउने? समयको कदम र अन्तर्राष्ट्रिय विकासको नमुनासंग परिचित भएर समाज निर्माणको पनि बुझेका अगुवा कोही भैदिएको भए यस सानो शहरको ईतिहास कायम राखेर आधुनिकताला र विकासलाई पहल्याउन नविन सोचको प्रदुर्भाव गर्ने कुरा आउँथ्यो।
राजमार्ग र मानव बस्ति एकै स्थानमा राख्ने कुरो होईन ।  शहरी भूभाग बनिसकेको स्थानमा भत्काएर हजारौको बसोबास र आयआर्जन मासेर बिल्लिबाठ गर्ने कार्य कुनै नैतिकता र मानविय सम्बेदनाका कुरा हुन सक्दैनन्। अहिले हेटौंडामा यसरी हजारौंलाई पुनर्वास गराउने संरचना पनि छैन र व्यापारिक निरन्तरता दिन सक्ने विकल्प पनि छैन।  त्यसमा पनि बजार नै उजाड पार्ने कार्य सन्तुलित मानसिकताको परिचायक हैन। यसको नाममा हाल दिन भरी फेरी लोडशेडिङ खप्नु परिरहेको छ र हाम्रो काम र पठनपाठनमा फेरि अपुरणिय क्षति हुन गैरहेको छ। यस्तो अन्यायलाई चुप लागरे सहने बेला अब गैसकेको छ। एक तर्फ हजारौको जीबन उजाडिने, अर्को तर्फ दैनिक कामकार्य मा नै फेरी पहिले जस्तै बाधा हुन शुरुवात भैसक्यो। कहिले सम्म हामीले यस्तो अन्याय सहनु पर्ने?
हामीले भोगेको सत्य हो कि सडक भत्काउन सजिले गति छ त्यतिनै कठिन पुनर्निर्माण गर्ने योजना। नेपालमा हरेक शहरमा भत्काईएका सडक बर्षौ वर्ष सम्म पनि धुलाम्य र अपुर्ण रहेर जनताको स्वास्थ्यमा पनि निकै नै हानी पुगिरहेको छ। हेटौंडा नगरकै बाटो यस्तै दुर्गतीले अस्तब्यस्तता बढेको छ। यसमा झन यो बहुलट्ठि र अदूरदर्शि सरकारी शक्ति प्रदर्शन र अहंको पराकाष्ठा हामीले भोग्नु पर्ने? कति वर्षको लागी? कति आर्थिक क्षति बेहोर्नु पर्ने हाम्रो काममा? सक्छ त्यसको पुर्ति गर्न? खबरदार बिजुली काट्न पाईन्न अब। हाम्रो काममा अडचन सह्य हुने छैन।
सडकलाई यथास्थान मै २५ मिटर बनाउने कामले धेरै दुष्परिणाम निस्कन्छ अबश्य । सब भन्दा पहिले त हरित हेटौंडा भनेर चिनाउने रुख नाश हुन्छन् । ती रुखहरु पनि हेटौंडाको परिचयको रुपमा मानसपटलमा गाढिएर बसिसकेका छन्। यी वृक्षहरु आफैमा प्राणी हुन। यिनको बेग्लै महत्व छँदैछ। सडक फाराकिलो बनाए पनि नतिजा के हुन्छ? पूर्व पश्चिम राजमार्गको खण्ड २५ मिटरको हुँदा बाँकी आधा खण्ड कान्ति लोकमार्ग र त्रिभुवन राजमार्गको खण्ड भने के हुनेछ? ती दुई यथावत रहेमा कुन सौन्दर्य बढ्नेछ र कसरी सवारीसाधनको आवतजावतको सन्तुलन मिल्नेछ? कान्ति लोकमार्ग त भर्खर भर्खरै साँघुरो नै बनाएको छ। ट्राफिक आवागमनको हिसाब, चाप र नियमले पनि बुद्ध चोकलाई दुई तर्फ २५ मिटर र दुई तर्फ साविक बमोजिम राख्न मिल्दैन। बनाए पछि चौतर्फो कम्तिमा पनि १ किमी लामो २५ मिटरको च्यबस्थित लेन हुनु पर्नेछ। त्यसमा पनि नयाँ खालको शहर हुनको लागी हरेक प्रकारका साधनलाई समेट्नु पर्नेछ। साईकल, ठेला, मोटरसाईकल, ई-सवारी, कार र भ्यानहरुमात्र शहरी सडकमा गुड्न दिने तर ट्रक, बसहरु, जो बिशेस लामो दूरिका हुन्छन् ती राजमार्गमा मात्र सिमित हुन पर्नेछन्। तिनकालागी हेटौंडाको पार्क साबिक स्थानमा हैन, नवलपुर र रातमाटे तिर बनाउनु पर्नेछ।
भत्काउने भन्दा पनि निर्माण गर्ने सोच राखेर धनजनको क्षति, समाजका बहुजनको पसिना र मेहनतको कदर गर्ने हो भने राम्रो विकल्प निकाल्न सकिन्छ। हेटौंडा उपमहानगरपालिकाको आगामी १०० वर्षको बिकासलाई टेवा पुराउने हो भने, मानब बस्ति र एतिहासिक शहर भन्दा वेग्लै हाल खाली रहेको भूभागमा नयाँ राजमार्ग निर्माण गर्ने कल्पना गर्नु पर्दछ। समुन्द्र माथि बाटो, फ्लाईओभर (flyover) निर्माण गर्ने तकनिकि विकास भैसकेको युगमा राप्ति खोला चेपेर वा त्यसैको बहाव मार्ग माथि नै अन्तर्राष्ट्रिय स्तरको फ्लाईओभर मार्ग छोटो, किफायति र दूरगामी प्रभावको हुन सक्छ। यसबाट कमसल वा काम नलाग्ने भूमीको नै प्रयोग गरेर बिकासको काम हुन सक्छ भने महंगो जग्गामा ब्याबसायिक बिकास कायम राख्न सकिन्छ।
अहिले २०३४ को नेपाल हैन। विगतमा जे जे गल्ति गरियो, त्यसको परिणाम हेटौंडालाई दशकौंसम्म अलपत्र पारेर यसको अर्थतन्त्र धराशायी बनाउने अधिकार कसैको छैन। विगतमा जजसले मुआब्जा लिए जे गरे, त्यो फर्काउने व्यबस्था गराउने हो तर अहिले २०७३ सालमा आएर नयाँ नेपालको कल्पना गरिरहेको बेला, त्यही खालको आधुनिक सोच र भिजन हुन जरुरी छ। ज्यादती कुनै पनि प्रकारले सहन गर्न सक्ने अबस्था छैन। यो सामन्ति सोचको लक्षण हो जसले देशलाई बिखण्डन तिर पुराई सकेको छ। त्यसलाई थप बल नदिनु नै उचित होला।
बिकासको अर्थ सडक र उद्योगको निर्माण हैन। ति सबको एउटै अन्तिम लक्ष हो जनतामा सुख, सुबिधा र सम्व्रिध्ध हुन सक्ने वाताबरणसहितको सभ्य समाजको निर्माण स्थापना हो। दूरगामी सोच, मानविय समवेदना र परिश्रमको कदर गर्न नसक्ने नेता, प्रसासक र कोही पनि यस हेटौंडा समाजको लायक हुन सक्दैन। विगतमा सरकार र जनताले जे जे गल्ति गरे त्यसको परिणाम जनताले मात्र भोग्ने कुरो हुन सक्दैन। हामी यसै ठाउँमा जन्मेका नागरिक हौ र हाम्रो हक र अधिकारको कुरा हो यसको बिनास गर्न खोज्नेलाई सचेत गराउने । वृहत हित र अधिक जनको पक्षमा काम नगर्ने जो कोही पनि जवाफदेही हुनु पर्ने र जिम्मेवारी वहन गर्नु पर्ने दिन पनि आउँछ। कानून फेरिन सक्छ, शक्तिमा रहेका परिवर्तन भैरहन्छन् तर हेटौंडाको नक्सा एक चोटी बनिसके पछि फेरी कोर्ने मौका आउँदैन।
हामीसंग बिकल्प छ भविष्यको आधुनिक शहर बनाउने जसकोलागी थप ठुला सडक चाहिन्छन्। त्यस्ता सडक ६ वा ८ लेनका पनि हुनुपर्छ यदि भविष्यमा हामी महानगर बन्ने हो भने। यसबाट अहिले बढ्दै गएको सवारी चापलाई पनि नियन्त्रत गर्न सकिने छ। थप चौडा सडकहरु नयाँ राजमार्गसंग जोड्न पदमपोखरी, बसामाढि, हाँडिखोला तर्फ योजनाबध्द रुपमा बनाउन सकिन्छ। यसबाट आधुनिक र इतिहासिक दुबै पक्षको जगेर्ना र बिकास हुन सक्छ। यस्तो बिकल्पको भविष्यले जनहरुमा पिडा पनि कम गर्छ र दशकौंको आर्थिक तहसनहस हुनबाट बचिन्छ। जसले यस्तो बिचार गर्न सक्दैन र अहिले चलिरहेको बिनास र कठिनाईले मनमा कुनै पिडा हुँदैन, ती हेटौंडाको बिकासको हिमायति कदापी हुन सक्दैन्। ती पुरातनबादी, सामन्तबादी सोचका, गैर प्रजातान्तिक सोचका प्रतिनीधि हुन्। तिनलाई नयाँ नेपाल देश र हाम्रो स्थानमा ठाउँ दिन सकिन्न।

बेलैमा सोच्ने बानी नभएर हामी सधै पछुताउनु पर्ने देश बनेका छौं। त्यही फेरी चरितार्थ नहोस्।

No comments

Powered by Blogger.