Add

Add

ब्याज बढाएकै बैंकहरु नाफामा



सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ । गएको वर्ष वाणिज्य बैंकहरूले खुद नाफा ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ । यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो । 

ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ । 

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको बुझिएको छ । मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी (पुँजी) जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको जानकारहरुको भनाइ छ । 
गत वर्षमा २८ वटा बैंकहरूको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको पुँजी १७.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको चुक्ता पुँजी १ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ थियो । 

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेकाले वित्तीय क्षेत्र असन्तुलित अवस्थामा रहेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा यस्तो उल्लेख छ । 

गत वर्ष अधिकांश महिनाहरूमा बैंकहरूको ब्याजदर उच्च रहयो ।लगानीयोग्य रकम अभाव भएको बहानामा बैंकहरूबीच निक्षेपको ब्याजदर वृद्धिको होडबाजी नै चल्यो । त्यो नियन्त्रणका लागि बैंकर्स संघले पटकपटक ब्याजदर नबढाउने सहमति (भद्रसहमति) नै गर्नुपर्‍यो । जुन अहिले पनि लागू छ । 

यसैगरी गत वर्ष वाणिज्य बैंकहरूले थप ८ सय ३ वटा शाखा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्मको शाखा विस्तार करिब ३८ प्रतिशतको वृद्धि हो । यस्तै गत वर्ष मात्र थप २ सय ८९ स्थानीय तहमा बैंकहरूको शाखा विस्तार भएको बैंकर्स संघले जनाएको छ । योसँगै ६ सय ३१ स्थानीय तहमा वाणिज्य बैंक पुगेको संघको तथ्यांक छ । यसका आधारमा बाँकी १ सय २२ स्थानीय तह अझै वाणिज्य बैंक विहीन छन् ।

No comments

Powered by Blogger.