अब सेयर कारोबारमा प्यान अनिवार्य
नेपाल धितोपत्र बोर्डले आगामी
आर्थिक वर्षदेखि सेयर कारोबार गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ ।
बोर्डले गत बिहीबार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी
आवदेखि सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्ने जनाएको छ । सेयर कारोबारको कर
प्रणालीलाई पनि व्यवस्थित गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्न लागिएको र बोर्डले
पहिलो पटक नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षदेखि सेयर कारोबारका लागि
स्थायी लेखा नम्बर अनिवार्य गरेको जानकारी दिएको छ ।
धितोपत्र बजारको स्वच्छ, पारदर्शी
तथा प्रभावकारी सञ्चालन र धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणका लागि
नीति तथा कार्यक्रममार्फत सुधार गर्ने बोर्डका अध्यक्ष डा. रेवत कार्कीले बताए ।
समीक्षा वर्षमा सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनीको संख्यामा
केही वृद्धि भए पनि निस्काशन रकममा भने करिव ४५ प्रतिशतले संकुचन आएको बोर्डले
जनाएको छ ।यसबाहेक प्राथमिक बजारका अन्य परिसूचकहरू हकप्रद, थप
तथा सामूहिक लगानी कोष निस्कासनमा अघिल्लो आवको तुलनामा बढेको छ । दोस्रो बजारतर्फ
कारोवार, फ्लोट
बजार पुँजीकरणमा वृद्धि भएको छ । अन्य परिसूचकमा सामान्य गिरावट आएको छ ।
बोर्डले धितोपत्र बजारको
सुपरिवेक्षण, कानुन
प्रवलीकरण तथा पूर्वाधार विकासमा जोड दिँदै आईओएससीओको सिद्धान्तअनुरूप बजार विकास
गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न नीति तथा कार्यक्रम ल्याएको जनाएको छ
। चालू
आर्थिक वर्षमा बोर्डले बोर्डको कम्तिमा ५१ प्रतिशत सेयर भएको धितोपत्र बजार
प्रशिक्षण संस्था स्थापना गर्ने भएको छ । बढ्दो अर्थतन्त्र र पुँजी बजारको
विस्तारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा
नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने तथा कमोडिटि डेरिभेटिभ बजारको
सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ प्रमाणिकरण भई आएपछि लागू
गर्न नियमावली बनाई सो बजारलाई नियमनको दायरामा ल्याउने बोर्डले जनाएको छ ।

No comments